दसैँ–तिहारको बिदामा अन्नपूर्ण आधार शिविरमा जेन-जी पुस्ताको ओइरो
'मौरिस हर्जोग' पदमार्गमा आन्तरिक पर्यटकको चाप
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
910
Shares
म्याग्दी। दसैँ लगत्तै मौसममा सुधार आएसँगै म्याग्दीस्थित अन्नपूर्ण आधार शिविर (एबीसी) र 'मौरिस हर्जोग' पदमार्गमा आन्तरिक पर्यटकको अप्रत्याशित घुइँचो लागेको छ। पोखराकी दिवाना सुनुवार वा काभ्रे बनेपाकी अनुषा लामाजस्तै ‘जेनजी’ उमेर समूहका युवायुवतीहरू बिदा मनाउन ठूलो संख्यामा यहाँ पुगेका छन्।
पञ्चकुण्ड ताल नजिकै होटल सञ्चालन गरेकी नरिमाया गर्बुजा गुरुङका अनुसार, दैनिक करिब तीन सय जनाको अनुपातमा अन्नपूर्ण आधार शिविर घुम्न आउने आन्तरिक पर्यटकमध्ये ८० प्रतिशत जेनजी पुस्ताका छन्। सामाजिक सञ्जाल र सञ्चार माध्यममा देखेका तस्बिर र भिडियोले लोभ्याएर उनीहरू यो पदमार्गमा आएका हुन्। पर्यटकको अपेक्षाभन्दा धेरै चाप बढेपछि खाना र बसाइ व्यवस्थापन गर्न होटल व्यवसायीलाई हम्मेहम्मे परेको छ। पदमार्गमा प्रौढ र पाका उमेरका पदयात्रीहरू भने कमै भेटिन्छन्।
पर्वतको जलजला गाउँपालिका–४ का सन्दर्भ आचार्यले सामाजिक सञ्जाल र प्रविधिमा अभ्यस्त जेनजीहरू नयाँ, नयाँ ठाउँ घुम्न र प्रकृतिमा रमाउन चाहने बताए। छोटो दुरीमा आधार शिविरमा पुग्न सकिने, हिमाल, ताल, फरक फरक भूगोल र प्राकृतिक सौन्दर्यको एकै पटक अवलोकन गर्न पाइने भएकाले जेनजीहरूको रोजाइमा यो पदमार्ग परेको उनको भनाइ छ।
नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर कच्ची सडक र त्यसपछि १८ किलोमिटर पदमार्गको यात्रा गरेपछि समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर पुगिन्छ। निलगिरि खोलाको किनारमा रहेको यो पदमार्गमा फुतफुते, छयाली, रातो लगायतका मनमोहक झरनाहरू छन्। अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो पञ्चकुण्ड ताल र पृष्ठभूमिमा देखिने हिमालको दृश्य यहाँको मुख्य आकर्षण हो।
सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमालको सफल आरोहण गर्ने फ्रान्सका मौरिस हर्जोगको सम्मानमा यो पदमार्गलाई 'मौरिस हर्जोग' पदमार्ग घोषणा गरिएको हो। गत वसन्तयामदेखि नारच्याङका बासिन्दाले हुमखोला, साँघीखर्क, पञ्चकुण्ड लगायतका स्थानमा ५०/५० जना क्षमताका अस्थायी संरचना बनाएर होटल सुरु गरेका थिए।
भुसकेतका होटल व्यवसायी माइकल पुनका अनुसार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पक्की संरचना बनाउन नदिएकाले काठ, त्रिपाल र जस्तापाताका टहरा तथा टेन्टमा पाहुना राख्नुपरेको छ। पाहुनाको बढ्दो चापसँगै फोहर व्यवस्थापन, विद्युत् र सञ्चार सुविधाको अभाव, साँघुरा पदमार्ग र झोलुङ्गे पुलमा आवतजावतको समस्या चुनौती बनेको छ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले 'नेचर र कल्चरको अद्भुत संगमस्थल' यो पदमार्गमा सञ्चार पहुँच पुर्याउन, सरसफाइमा ध्यान दिन तथा पूर्वाधार विकासका लागि समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पनि एकीकृत गुरुयोजना बनाएर पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिएको जानकारी दिएका छन्।