काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
पार्टीले आइतबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सरकार जेन–जी विद्रोहको भावना विपरीत रहस्यमय ढंगले गठन भएको आरोप लगाउँदै तत्काल खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका हुन् ।
वर्तमान सरकारले देशलाई अर्को राजनीतिक संकट र विद्रोहतर्फ धकेल्ने आफ्नो पार्टीको विश्लेषण रहेको उनको भनाइ छ । उनले अन्तरिम सरकारमा जेन–जीको सहभागितासमेत हुन नसकेको उल्लेख गर्दै वर्तमान सरकार खारेज गरी जेन–जीका प्रतिनिधिहरूको प्रत्यक्ष सहभागितामा सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने जोड दिए ।
उनले वर्तमान सरकारले चुनावको वातावरणसमेत बनाउन नसकेको आरोप लगाए । उनले जबरजस्ती निर्वाचन गरेर मुलुकलाई दलालको हातमा दिने कार्य गर्ने दिशामा सरार अगाडि बढिरहेको आरोपसमेत लगाए ।
नेपालका उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, व्यवसायी, बुद्धिजीवी तथा सत्ताबाहिर बसेर देशको स्वायत्तता र स्वाधीनताका लागि लडेका दलहरूलाई समावेश गरेर सर्वपक्षीय सरकारमार्फत संविधान सुधार गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको जिकिर छ ।
विप्लवले अहिलेसम्म राज्यसत्तामा बसेका नेताहरुको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नसमेत माग गरेका छन् । उनले मुलुकमा रहेको कालोधन समाप्त पार्न ५ सय र एक हजारका नोटहरु बन्द गर्नुपर्ने बताउनु भयो ।