arrow

पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाउन विप्लवको प्रस्ताव

भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरणको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १० बिहिबार
biplavs.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले मुलुकमा थुप्रिएको कालोधनलाई वैध बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न तत्काल 'नोटबन्दी' गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले बजारमा रहेका पाँच सय र एक हजार रुपैयाँका नोटहरूमा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।

महासचिव चन्दले ठुला नोटको सट्टामा २ सय, ४ सय र २ हजार रुपैयाँका नयाँ नोटहरू प्रचलनमा ल्याउन सकिने सुझाव दिएका छन्। यसो गर्दा लुकाएर राखिएको कालोधन बाहिर आउने र अर्थतन्त्र पारदर्शी हुने उनको दाबी छ। बैठकमा उनले भ्रष्टाचार नियन्त्रणका लागि चार वटा मुख्य मागहरू अघि सारेका छन्, जसमा उच्चस्तरीय छानबिन आयोगको गठन र एक शक्तिशाली 'उच्चस्तरीय न्यायालय' को स्थापना प्रमुख छन्।

विप्लवका अनुसार उक्त विशेष न्यायालयले गर्ने फैसला अन्तिम हुनुपर्ने र त्यसमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने व्यवस्था हुन नहुने जिकिर गरेका छन्। "भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्छ र उनीहरूलाई हदैसम्मको जन्मकैदको सजाय हुने कानुनी व्यवस्था हुनुपर्छ," उनले बैठकमा भने। आफ्ना मागहरू पूरा नभए पार्टीले शान्तिपूर्ण आन्दोलन छेड्ने चेतावनी समेत उनले दिएका छन्।

वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै चन्दले अहिलेको सरकारले निर्वाचन गराउन नसक्ने दाबी गरे। राज्यका संयन्त्र र कर्मचारीहरूको मनोबल गिरेकाले निष्पक्ष निर्वाचनका लागि 'सर्वपक्षीय सरकार' गठन गर्नु अनिवार्य रहेको उनको भनाइ छ। नेकपा एमालेसँग कार्यगत एकता गरेको आरोपबारे स्पष्ट पार्दै उनले केही राष्ट्रिय एजेण्डाहरू एमालेसँग मिलेका कारण सर्वपक्षीय सरकारको मुद्दामा समानता देखिएको बताए। यद्यपि, कम्युनिष्ट एकताको आवश्यकता भए पनि तत्कालै त्यसको सम्भावना नरहेको उनले स्पष्ट पारेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ