पाटन (ललितपुर)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्दै अप्ठ्यारो अवस्थामा आफ्नो पार्टीको भूमिका बढेको बताएका छन्।
माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिले आज महालक्ष्मीस्थानमा आयोजना गरेको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए।
संयोजक प्रचण्डले गत भदौ २३ गते जेनजी युवाहरूले बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध आन्दोलन गरेर देशप्रतिको माया र सुधारको लागि शक्ति प्रदर्शन गरेको बताए। तर, भदौ २४ गतेको आन्दोलनले भने देशमा 'कति खतरनाक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ' भन्ने शिक्षा दिएको भन्दै सबैलाई सचेत गराए। उनले जेनजी आन्दोलनका मागहरू पनि पार्टीकै माग भएकाले आफूहरूले समर्थन गरेको र युवाको चाहना तथा भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए।
"परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ," प्रचण्डले भने। उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए।
प्रचण्डले भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै नभएको बताउँदै लेनिनको भनाइ उद्धृत गरे, "क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्।" उनले पार्टी जनताको नेतृत्व गर्ने पार्टीका रूपमा फेरि रुपान्तरण हुनुपर्नेमा जोड दिए।
यसैगरी, उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राखे।
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका युवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा जोड दिइन्। उनले फागुन २१ गतेको निर्वाचन सफल बनाउन आवश्यक रहेको पनि बताइन्।