स्वरुप परिर्वतन गरिएका दुई सय ७५ मोटरसाइकल नियन्त्रण
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २ आइतबार
1k
Shares
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने दुई सय ७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबारसम्म दुई सय ७५ वटा मोटरसाइकलहरू नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाइएको उपत्यकामा ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ ।
चर्को आवाजमा हर्न बजाउने र मोटरसाइकलमा गैरकानूनी तरिकाले परिमार्जन गरिएको साइलेन्सर पाइप जडान गरिएका सवारीसाधनहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
उनले भने, “चर्को आवाजका कारण उत्पन्न हुने ध्वनि प्रदूषणमाथि कडाइ गर्न हामीले ठूलो सङ्ख्यामा मोटरबाइक नियन्त्रणमा लिएका छौँ । यो अभियान जारी रहने छ । नियन्त्रणमा लिइएका बाइकहरूको कानूनी प्रक्रियासमेत अगाडि बढाइएको छ ।”
उपत्यकाका मुख्य सहर काठमाडौँ, ललितपुर र भक्तपुरसहित विभिन्न स्थानमा स्वरूप परिवर्तन गरी चर्को ध्वनि निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिन थालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार सवारीसाधनको कुनै पनि भागमा तोकिएको मापदण्ड विपरीत परिवर्तन गर्न पाइँदैन ।
तर पछिल्लो समयमा धेरै मोटरसाइकल चालकहरूले साइलेन्सर पाइपहरू परिवर्तन गरी तीव्र ध्वनि उत्पादन गर्ने गरेको पाइएपछि ट्राफिक प्रहरीले यस्तो कडाइ गर्न बाध्य भएको प्रमुख अधिकारीको भनाइ छ ।