काठमाडौँ । नेपाल प्रहरीले आज आफ्नो स्थापनाको ७० औँ दिवस मनाइरहेको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
सो क्रममा मन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार सतर्क रहेको बताए ।
प्रहरीको अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने बताए ।
उनले सरकारले प्रहरीलाई श्रोत, साधन उपलब्ध गराउन तत्काल आवश्यक कदम अघि बढाउने बताए । नेपाल प्रहरी कानून कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणा र प्रतिक्रियामा समेत निशानामा पर्ने संगठन रहेको बताए ।
गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन र आन्दोलन यसैको प्रतिविम्व भएको जिकिर गरे । जेन—जी आन्दोलनका क्रममा प्रहरीका सांगठनिकदेखि व्यक्तिगत सामानहरु पनि लुटपाट र आगजनी भएको र श्रोत साधनको अभाव रहेको प्रहरी संगठनका साथै आम नागरिकमा समेत यसको प्रत्यक्ष प्रभाव परेको बउनले बताए ।