निर्वाचनका लागि प्रहरीलाई पर्याप्त श्रोत, साधन तत्काल उपलब्ध गराइने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
1.1k
Shares
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई पर्याप्त श्रोत र साधन उपलब्ध नभए आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउने कार्य प्रभावित हुनेमा सरकार शतर्क रहेको बताएका छन्।
शुक्रबार ७०औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले प्रहरीलाई साधन, श्रोतयुक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने र नेपाल सरकारले यसका लागि तत्काल आवश्यक कदम अघि बढाउने विश्वास दिलाएका छन्।
नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपंक्तिमा रहने र सरकारप्रतिको धारणामा समेत निशानामा पर्ने संगठन रहेको उनले बताए। गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन (जेन-जी आन्दोलन) यसैको प्रतिविम्ब भएको उनको जिकिर छ।
उनले आन्दोलनका क्रममा नेपाल प्रहरीका होनहार तीन जना कर्मचारीले जीवन उत्सर्ग गरेको र प्रहरीका साङ्गठनिकदेखि व्यक्तिगत सामानसमेत लुटपाट र आगजनी भएकाले न्युन साधन, श्रोतबाट कार्य सम्पादन गर्दै आइरहेको प्रहरी संगठनलाई निकै ठूलो क्षति पुर्याएको बताए। यस किसिमको क्षतिले आम नागरिकको जीवनमा पनि प्रभाव पारेको उनको भनाइ छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने दायित्व रहेको र शान्ति सुरक्षाको लागि महत्वपूर्ण जिम्मेवारी लिएको नेपाल प्रहरीलाई पर्याप्त श्रोत, साधन उपलब्ध नभएमा कार्य सम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको उनले दोहोर्याए।
गृहमन्त्री अर्यालले बढ्दो प्रविधिसँगै नयाँ प्रकृतिका अपराधका गतिविधि मौलाएको र यसले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण बन्दै गएको बताए। नेपाल प्रहरीलाई साधन, श्रोतले सुसज्जित बनाइ देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले स्पष्ट पारे। न्युज एजेन्सी नेपालको सहयोगमा