पाँच सय वर्ष पुरानो चिमाङ गाउँको कथा: सिमारेखको रक्षादेखि पलायनको चिन्तासम्म
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
939
Shares
मुस्ताङ। मुस्ताङको घरपझोङ–१ स्थित चिमाङ गाउँ, करिब पाँच सय वर्षअघि राजा थर्कोचेनको राज्यको सिमाना र रेखदेखका लागि बसालिएको प्राचीन बस्ती हो। समुद्री सतहको करिब तीन हजार मिटरभन्दा माथि, चाखोपानी खोलाको भिरको थुम्कोमा अवस्थित यो बस्तीमा सुरुमा ठिनी गाउँबाट ध्याकल फोपे समूहलाई सिमाना कुर्न स्थानान्तरण गरिएको थियो। पछि पूजापाठ र झारफुकका लागि झाँक्री फोपे समूहलाई पनि त्यहीँ बसाइँ सारिएपछि यहाँ ध्याकल र झाँक्री फोपेको संयुक्त बस्ती बस्यो।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकबाट कालीगण्डकीपारि अग्लो स्थानमा रहेको यो कृषि गाउँमा सुरुवाती चरणमा ३५ घरपरिवारको बसोबास थियो। तर, चिमाङका अगुवा इन्द्रप्रसाद थकालीका अनुसार अहिले एकतिहाइ घरपरिवारले बस्ती छाडिसकेका छन्। गाउँमा कृषिबाहेक अन्य सम्भावना नहुनु र भौगोलिक रूपले विकट हुनुका साथै वैकल्पिक व्यापार–व्यवसाय र रोजगारीका लागि पोखरा, काठमाडौँलगायत सहरमा पलायन हुने क्रम बढेकाले पुराना मानिसको सङ्ख्या घट्दै गएको छ। यद्यपि, रुकुम, धादिङ र म्याग्दीबाट मानिसहरू यहाँ आएर बस्न थालेपछि यो बस्ती मिश्रित बन्न पुगेको छ।
चिमाङका किसानहरू पछिल्लो समय जलवायु परिवर्तन र वन्यजन्तुको आतङ्कबाट त्रसित छन्। स्याउलगायतका अन्नबालीका लागि पर्याप्त चिस्यान चाहिने भए पनि अनुकूल समयमा हिउँ नपर्दा उत्पादनमा प्रतिकूल असर परेको छ। यसबाहेक, संरक्षित वन्यजन्तु हिमाली कालो भालुले रातिको समयमा खेतबारी सखाप पारिदिने गरेकाले किसानहरू राति थाल, टिन र ढ्याङ्गो ठटाएर भालु धपाउन बाध्य छन्। भालुको आतङ्क नियन्त्रणका लागि वैज्ञानिक रणनीति आवश्यक रहेको अगुवा थकाली बताउँछन्।
पछिल्लो समय यस गाउँको स्वरूपमा परिवर्तन आउँदै आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ र गाउँमा विद्युत्, सञ्चार, सडक तथा कालीगण्डकी नदीमाथि पक्की पुलको पहुँच विस्तार भएको छ। यी पूर्वाधारले चिमाङमा सम्भावनाको ढोका खोलेको अगुवा थकालीको भनाइ छ।
निलगिरि हिमालको फेदैमा अवस्थित यो थकाली समुदायको सांस्कृतिक गाउँ, पर्यटकीय गन्तव्यका रूपमा पनि प्रचुर सम्भावना बोकेको छ। यहाँबाट धवलागिरि, मानापाथी र निलगिरि हिमाल तथा कालीगण्डकी करिडोरको मनमोहक दृश्य देखिन्छ। यद्यपि, परम्परागत पुराना सांस्कृतिक घरहरू वर्षौँदेखिको घामपानीको असरले जीर्ण बन्दै गएका छन् र जलवायु परिवर्तनका कारण धेरै पानी पर्दा भिरालो सतहमा अवस्थित बस्ती भासिने जोखिम बढेकोमा चिन्ता व्यक्त गरिएको छ। अगुवा थकालीले सरकारले सांस्कृतिक मौलिकता झल्काउने यस्ता पुराना घरहरूको संरक्षणका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका छन्।