विश्व भोकमरी सूचाङ्कमा नेपालको उल्लेख्य प्रगति, तर ५५ प्रतिशत किसान परिवारमा खाद्यान्न अभाव
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
999
Shares
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले बिहीबार ४५औँ खाद्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले विगत २५ वर्षमा विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन्।
मन्त्री परियारले नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै सन् २००० मा भोकमरी सूचाङ्कमा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आइपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी ठूलो सुधार गरेको जानकारी दिए। यद्यपि, नेपाल अझैपनि मध्यम जोखिमयुक्त मुलुकमा रहेको उनको भनाइ छ। खासगरी हिमाली क्षेत्रमा खाद्य असुरक्षित जनसंख्या बढी रहेको र उक्त क्षेत्रमा खाद्यान्नको पहुँच वृद्धि गर्नसके समग्र अवस्थामा थप सुधार ल्याउन सकिने अवस्था रहेको उनले बताए।
नेपालको विद्यमान कृषि अवस्थाबारे चर्चा गर्दै उनले कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकोमा वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको जानकारी दिए। कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेपनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्यै न्यून रहेको उनले बताए। यसका साथै, बसाइँसराइ र अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेकोमा समेत उनले चिन्ता व्यक्त गरे।