निर्वाचन बिथोल्न केही तत्त्व सक्रिय: गृहमन्त्री अर्याल [भिडियो]
सम्झाई बुझाई नमाने सरकारले कडा कदम चाल्ने सङ्केत
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1k
Shares
भक्तपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई बिथोल्नका लागि केही तत्वहरू सक्रिय भएको आरोप लगाएका छन्। जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले निर्वाचनको माहोल बिगार्न लाग्नेहरूलाई सरकारले सुरुमा सम्झाईबुझाई गर्ने र नमानेमा सरकारले आफ्नो ढंगबाट काम गर्ने सङ्केत दिएका हुन्।
गृहमन्त्री अर्यालले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनका लागि बनेको उल्लेख गर्दै तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे। उनले निर्वाचनको लागि सरोकारवाला सबैलाई संवादमा आउन आह्वान गरेको जिकिर गरे।
अर्यालले भने, "निर्वाचनको लागी सबै संवादमा आउन पऱ्यो। स्टेक होल्डरहरू संवादमा आउनुपऱ्यो। सरकारले संवादमा सहजीकरण गर्छ। राष्ट्रपतिज्यूले पनि संवाद शुरू गरिसक्नुभएको छ। हामीले हाम्रो तहबाट पनि संवादको लागि आह्वान गरिरहेका छौँ।"
गृहमन्त्री अर्यालले निर्वाचनको माहोल भड्काउन खोज्ने तत्वहरूलाई सम्झाउँदा पनि नमानेमा सरकारले 'आफ्नो ढंगले काम गर्ने' र निर्वाचन जसरी पनि गराउने स्पष्ट पारे। उनले फ्रेश म्याण्डेड लिएर आउनका लागि राजनीतिक अधिकार सुनिश्चित गर्न नै यो सरकार बनेको दाबी गरे।
उनले व्यापक राजनीतिक हस्तक्षेपका कारण प्रहरी कर्मचारीको मनोबल गिरेको स्वीकार गर्दै वर्तमान सरकारले प्रहरी कर्मचारी लगायतको मनोबल उकास्ने काम गरिरहेको बताए। उनले विगतमा राजनीतिक दलहरूले प्रहरीको दुरुपयोग गरेको आरोप पनि लगाए।