जसपा नेपाल मधेस प्रदेश अधिवेशनमा विवाद: अध्यक्षका उम्मेदवारले गरे निर्वाचन प्रक्रिया बहिष्कार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
1.1k
Shares
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस प्रदेशको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी रहेकै बेला एक पक्षले निर्वाचन बहिष्कारको घोषणा गरेको छ।
नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका हुन्। उनलाई रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरूले समेत समर्थन जनाएका छन्।
अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले जसपा नेपालको विधानविपरीत अधिवेशन भइरहेकोले आफूहरूले बहिष्कार गरेको बताए। उनको आरोप छ कि अधिवेशन कर्मकाण्डी हिसाबले चलिरहेको छ र अर्का उम्मेदवार बालकिशोर यादवले विधानविपरीत आफूखुसी हुलका हुल प्रतिनिधि छनोट गरेकाले अधिवेशनमा सहभागी हुने वातावरण रहेन। उनले आफूहरूलाई बन्दसत्रमा समेत महत्व नदिइएको आरोप लगाएका छन्।
यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरूले पनि निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन्। योगेन्द्र यादवलाई मधेसका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरूको समेत समर्थन प्राप्त भएको छ।