अन्नपूर्ण आधार शिविर जाने ऐतिहासिक पदमार्गमा सञ्चार र विद्युत्को अभाव, पर्यटकको सुरक्षामा चुनौती
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
778
Shares
म्याग्दी (बेनी)। हिमाल आरोहणको इतिहासमा जेठो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर (एबीसी) जाने 'मौरिस हर्जोग' पदमार्गमा सञ्चार र विद्युत् सुविधाको चरम अभाव भएको छ। होटल सुविधा र पदमार्ग व्यवस्थापनका कारण पर्यटकको आगमन बढे पनि सञ्चारको पहुँच नहुँदा पर्यटकले ठूलो सास्ती भोगिरहेका छन्।
असोजको सुरुआतदेखि यस क्षेत्रमा दैनिक १५० देखि ३०० जनासम्म पर्यटक भ्रमणमा पुगेका छन्। मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा पर्यटन व्यवसायी तेज गुरुङका अनुसार, पदमार्गको हुमखोलासम्म मात्र विद्युत् र मोबाइल फोनको पहुँच छ। हुमखोलादेखि आधार शिविरसम्म पुगेर फर्कने करिब दुईदिनको यात्रा अवधिमा पर्यटक सञ्चार सम्पर्कबाट पूर्ण रूपमा विच्छेद हुने गरेका छन्। सञ्चारको पहुँच नहुँदा होटलसँग अग्रिम सम्पर्क नगरिकनै पुग्नुपर्ने बाध्यताले पर्यटकको बसोबासमा समस्या भएको गुरुङले बताए।
सञ्चारविहीनताका कारण पर्यटकको सुविधा र सुरक्षामा गम्भीर चुनौती देखिएको छ। हिमाली क्षेत्रको पर्यटक उद्धारमा सक्रिय इन्द्रसिंह शेरचनले आपत्कालीन समयमा, बिरामी हुँदा वा बेमौसममा हिमपातको कारण अलपत्र परेको समयमा सञ्चार सम्पर्क नहुँदा उद्धार कार्यमा ठूलो सकस हुने गरेको बताएका छन्। "आपत्कालीन रूपमा कसरी उद्धार माग्ने सञ्चारको कुनै पहुँच छैन," शेरचनले भने। उनले पदमार्गमा रहेका होटलहरूमा कम्तीमा स्याटेलाइट वा वाकिटकी फोनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए।
विसं २०६८ देखि स्थानीयवासीको अग्रसरतामा नारच्याङगाउँदेखि एबीसीसम्म पदमार्ग निर्माण सुरु भएको थियो। गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि हुमखोलासम्म सडकको पहुँच पुगेपछि र त्यसभन्दा माथि १६ किलोमिटरको दूरीमा पदमार्ग निर्माण गरी ठाउँ–ठाउँमा होटल सञ्चालनमा आएपछि अहिले यो क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।
विराटनगरबाट समूहमा भ्रमणमा आएका मोहन अटलले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भए पनि विद्युत् र सञ्चारको पहुँच, खानेपानीको सुविधा विस्तार तथा सडकमार्गको स्तरोन्नति तत्काल गर्नुपर्ने गुनासो गरे। होटल व्यवसायीहरू पनि सञ्चार र विद्युत् सुविधा नहुँदा ग्याँस र जेनेरेटरको प्रयोग गर्नुपर्दा खर्चिलो तथा झन्झट व्यहोर्नुपरेको बताउँछन्।