काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिना (भदौ) को आर्थिक विवरणअनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत एक महिनामै रु ३२ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ।
राष्ट बैंकको तथ्याङ्क अनुसार, अघिल्लो वर्षको सोही अवधिमा विदेशिने विद्यार्थीले रु २८ अर्ब २० करोड लगेका थिए।
यसरी शैक्षिक खर्चबापत ठूलो रकम विदेशिनुले खुद सेवा आयमा समेत दबाब परेको छ। समीक्षा अवधिमा खुद सेवा आय रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ, जुन अघिल्लो वर्ष रु २७ अर्ब ९३ करोडले घाटामा थियो।
यद्यपि, सेवा खाताअन्तर्गत भ्रमण आय ९.८ प्रतिशतले वृद्धि भई रु ११ अर्ब ५८ करोड पुगेको छ भने भ्रमण व्यय पनि ९.६ प्रतिशतले बढेर रु ४७ अर्ब ३१ करोड पुगेको छ।