arrow

हमासले विपिन जोशीको मृत्यु भएको दियो जानकारी, शव बुझाउँदै, पीडामा परिवार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
bipin-joshi-file.jpg
फाइल तस्बिर

काठमाडौँ । हमासले दुई वर्षदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । उसले विपिनको शव इजरायल सरकारलाई बुझाउने बताएको छ ।

यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो । हमासले सोमबार इजरायलसँग संघर्ष विराम भएपछि आफ्नो नियन्त्रणमा रहेका २० जना जीवित बन्धकलाई मुक्त गरेपछि मृतकको शव बुझाउने बताएको थियो । 

२० जीवित बन्धकलाई हमासले बुझाइसकेको छ । बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि फिर्ता गरिने हमासले जनाएको छ।

हमासको सैन्य एकाइलाई उधृत गर्दै बीबीसी नेपाली सेवाले सोमबार अबेर जोशीसहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको जनाएको छ।

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाले हस्तान्तरण गर्न लागेका चार शवमध्ये एक जोशीको पनि हुन सक्ने जानकारी दिएको छ।

दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी यसअघि इजरायली सेनाले परिवार र इजरायलस्थित नेपाली दूतावासलाई गराएको थियो ।

परराष्ट्र मन्त्रालयले भने विपिनको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उसले बन्दीहरुको रिहाइ र शव हस्तान्तरण प्रक्रियाबारे निरन्तर जानकारी अद्यावधिक गरिरहेको जनाएको छ।

विपिनको परिवार पीडामा
विपिनको परिवार भने यतिबेला पीडामा छ । उनको ठूलोबुवाका छोरा (दाजु) किशोर जोशीले इजरायलबाट नराम्रो खबर आएको बताएका छन् । यसअघि नै विपिनको परिवारलाई जीवितको सूचीमा विपिन नरहेको जानकारी गराइएको थियो । 

विपिन बन्धक भएपछि रिहाइका लािग नेपाल सरकारले विभिन्न सूत्र लगाएर पहल गरेको थियो । त्यसकै विभिन्न चरणमा थुप्रै पटक नेपालका परराष्ट्र मन्त्रीहरु विदेश गएको गयै गरेका थिए । 

हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरायली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ