arrow

विपिन जोशी 'जीवित रहेको कुनै प्रमाण फेला परेन', चमत्कार हुने आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
bipin-joshi-file.jpg
फाइल तस्बिर

काठमाडौँ । हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी "जीवित रहेको प्रमाण फेला नपरेको" औपचारिक जानकारी इजरायली सेनाले गराएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।

दुई वर्षअघि बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ। इजरायल र हमासबीच सङ्घर्षविराम भएपछि आजदेखि बन्धकहरू मुक्त गर्न थालिएको छ । 

हमासले २० जनालाई नै आफूलाई हस्तान्तरण गरेको इजरायली सेनाले पुष्टि गरेको छ। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताएका छन् । बीबीसीलाई उनले भने, "केही थप आयो र चामत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा । नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन् ।" 

हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए। आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरायलमा राजदूत पण्डितलाई ग्रुप कलमा सहभागी गराएर इजरायली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन् ।

सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जना जतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरायलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो ।

ट्रम्पको उपस्थितिमा हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ ।

ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यू’ लेखिएको दृश्य देखाएको थियो । उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए ।

आई २४ न्यूज इजरायलका अनुसाार २० जीवित बन्धकमध्ये पहिलो सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन ्। टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो ।

रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।

सोमबार बिहान हमासले दुई वर्षको कैदपछि २० जीवित बन्धकको समूह रिहा गर्न तयारी गर्दा इजरायलभर जनताहरु सडक, सार्वजनिक स्क्वायर र सैनिक बेसहरूमा जम्मा भएका थिए । 

तेल अविभको होस्टेज स्क्वायर र गाजा सीमावर्ती दक्षिण इजरायलमा सयौं मानिसहरू झण्डा बोकेर र बन्धकहरूको फोटोसहित उपस्थित भएका थिए ।

रिहा हुने बन्धकहरूलाई स्ट्रिपबाट रिइम नजिकको सैनिक सुविधामा लगेर प्रारम्भिक शारीरिक तथा मानसिक जाँच गरिने र परिवारसँग भेट गराइनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले लेखेको व्यक्तिगत सन्देश सार्वजनिक गरेको छ ।

बन्धकहरूको रिहाइको सम्झौताअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार, इजरायलले करिब २,००० प्यालेस्टिनियन बन्दीहरू रिहा गर्नेछ र गाजामा ‘पूर्ण सहायता’तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नेछ, जहाँ केही क्षेत्रहरूमा खाद्यान्न अभाव र भोकमरीको समस्या देखिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ