म्याग्दी। म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सञ्चालन भएको छ। कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको यो आयोजना चालु आर्थिक वर्ष २०८२/८३ मा ३४ स्थानीय तहमा विस्तार भएको हो।
नेपाल सरकार र एसियाली विकास बैंकको साझेदारीमा सञ्चालित यो आयोजना म्याग्दी, बागलुङ, मनाङ र मुस्ताङका १९ स्थानीय तहमा थप विस्तार भएको हो। कूल ९३.४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनामार्फत १० प्रजातिका फलफूल खेती विस्तार गर्न कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने आयोजना प्रमुख वासुदेव काफ्लेले जानकारी दिए।
आयोजनाको मुख्य उद्देश्य पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, किवीलगायतका फलफूलखेती विस्तार र प्रवद्र्धन गर्नु हो। यसले बसाइँसराइका कारण बाँझिएका खेतीयोग्य जमिनलाई पुनः प्रयोगमा ल्याउन सहयोग पुगेको छ।
पहिलो चरणमा आयोजना लागू भएको पर्वतको जलजला गाउँपालिकाका २९ वटा फार्म र समूहले सुन्तलाजात र ओखर खेती विस्तारसम्बन्धी कार्यक्रमका लागि अनुदान सम्झौता गरेका थिए। जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले दिएको जानकारीअनुसार ११ वटा फार्मले सुन्तला र दुई वटाले कागतीको बगैँचा स्थापना गरिसकेका छन्।
उपाध्यक्ष आचार्यले भने, "फलफूल बगैँचा स्थापनाका लागि बाँझिएको जग्गा प्रयोगमा आउनुका साथै बजार झरेका किसान गाउँ फर्किएर फलफूलखेतीमा लागेका छन्।" जलजला–४ सिरानचौरमा १० वर्षदेखि बाँझिएको झाडी फाडेर ओमनम् एग्रो फार्मले कागतीको बगैँचा स्थापना गरेको छ।
यस्तै, जलजला गाउँपालिका–५ लेकफाँटका किसानहरूले धान खेतीको विकल्पमा २० रोपनी खेतमा सुन्तलाका बिरुवा रोपेका छन्। मिलनचोक बजारमा बस्दै आएका दयाराम सापकोटा बगैँचा स्थापनापछि गाउँ फर्किएका छन्।
अनुगमन टोलीसँग किसानले आयोजनाले अनुदान उपलब्ध गराउन ढिलाइ गर्दा समस्या भएको गुनासो गरेका थिए। सञ्जोग कृषि फार्मका वेदनाथ सुवेदीले गत असारमै काम सके पनि भुक्तानी नपाएको बताए। यस सम्बन्धमा आयोजना प्रमुख काफ्लेले काम सम्पन्न गरेका फार्महरूको स्थलगत अनुगमन सकेपछि तत्कालै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन्।