सेन्जेन क्षेत्रमा अवैध प्रवेश रोक्न 'स्वचालित सीमा जाँच' शुरु, गैर–ईयू यात्रुको बायोमेट्रिक अनिवार्य
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २७ सोमबार
2.2k
Shares
काठमाडौँ। युरोपको सेन्जेन खुला सीमा क्षेत्रमा गैर–ईयू यात्रीहरूको गैरकानुनी प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबारदेखि स्वचालित सीमा जाँच सेवा सञ्चालनमा ल्याइएको छ। युरोपेली सङ्घले सीमा सुरक्षा र अवैध आप्रवासी नियन्त्रणका लागि यो सेवा ढिलोगरी शुरु गरेको हो।
नयाँ स्वचालित सीमा जाँच प्रणाली लागू भएसँगै सेन्जेन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिको फोटो खिचिनेछ र औँठा छाप (फिंगरप्रिन्ट) लिइनेछ। यो प्रणालीको मुख्य लक्ष्य राहदानीमा लाग्ने 'म्यानुअल स्ट्याम्प' लाई विस्थापित गर्नु र ईयूका २७ सदस्य राष्ट्रहरूबीच सूचनाको साझेदारीलाई सुदृढ गर्नु रहेको छ।
यो प्रणालीले अधिकारीहरूलाई कुनै पनि व्यक्ति कहिले प्रवेश गर्यो र कहिले बाहिरियो भन्ने जानकारी दिनेछ। यसको उद्देश्य भिसामा तोकिएको समयभन्दा बढी बस्ने (ओभरस्टे) मानिसहरू र प्रवेश गर्न अयोग्य व्यक्तिहरूलाई सजिलै पत्ता लगाउनु हो।
लगभग एक दशकदेखि बहसको विषय बनेको यो सेवाले लामो लाइन लाग्ने चिन्ताका कारण यातायात प्रदायक र यात्रुहरूमा केही भय सिर्जना गरेको छ। तर, अवरोधहरू सीमित गर्नका लागि सेवालाई आइतबारदेखि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइएको छ। साइप्रस र आयरल्यान्डबाहेक ईयू देशहरूमा छोटो बसाइका लागि आउने गैर–ईयू नागरिकहरू (जसमा आइसल्याण्ड, लिच्टेन्स्टाइन, नर्वे र स्विट्जरल्यान्डका नागरिक पनि पर्छन्) जाँच केन्द्रमा औँठा छाप र फोटो खिचाउनुपर्नेछ।
फ्रान्स र जर्मनीजस्ता ठूला ईयू देशहरूले शुरुमा ठूलो भीडबाट बच्न सीमित जाँच मात्र गर्ने बताएका छन्, जबकि केही साना सदस्य राष्ट्रहरूले आइतबारदेखि नै यो प्रणाली पूर्ण रूपमा लागू गरेका छन्। सदस्य राष्ट्रहरूले अप्रिलको मध्यसम्म सबै यात्रुहरूको लागि स्वचालित जाँच प्रयोग गर्न पाउनेछन्।
ब्रेक्जिटपछि बेलायतको सीमामा विशेष ध्यान केन्द्रित हुनेछ, किनकि बेलायत ईयूको नागरिक नरहेकाले बेलायतीहरू पनि यो नयाँ जाँचको अधीनमा आउनेछन्। बेलायती अधिकारीहरूले सेन्जेन क्षेत्रमा प्रवेश गर्न केही मिनेट थप कुर्नुपर्ने चेतावनी दिइसकेका छन्। च्यानल टनेलका अपरेटर गेटलिङ्क र रेल सेवा यूरोस्टारले भने प्रणाली सहज रूपमा चल्नेमा विश्वास व्यक्त गरेका छन्।