कोरियाले जेन-जी घाइतेलाई सहयोग जुटाउँदै, भौतिक पुनःनिर्माणमा सरकारलाई सघाउने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
964
Shares
काठमाडौँ । गणतन्त्र कोरियाली दूतावासले काठमाडौँमा गत भदौ २३-२४ मा जेन-जी आन्दोलनका क्रममा भएको मानवीय क्षतिको गहिरो दुःख व्यक्त गर्दै उनीहरूको सम्मानमा शनिबार शोक कार्यक्रम आयोजना गरेको छ ।
दूतावासले नेपालमा रहेको कोरियाली समुदायको सहभागितामा आन्दोलनका क्रममा जीवन समर्पित गर्ने र बलिदान दिनेहरूप्रति गहिरो शोक व्यक्त गर्दै उनीहरूको महान् बलिदानलाई स्मरण गरेको छ।
उक्त कार्यक्रममा कोरियाली समाज, नेपालमा रहेका कोरियाली उद्यमी लगायतले घाइतेहरूको उपचारमा सहयोग पुर्याउन रकम संकलन अभियान सञ्चालन गरेका छन् ।
नेपालमा रहेको कोरियाली समुदायको नेतृत्वमा शुरू भएको अभियानमा कोरियाली खानाको परिकार उपलव्ध गराएर सहयोगका लागि आह्वान गरेको थियो।
अभियान शुरू भएको छोटो अवधिमा नै सहयोग रकम उल्लेखनीय दरले संकलन भएको दूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ। कार्यक्रमको शुभारम्भ गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थे यङले मन्तव्यका क्रममा गणतन्त्र कोरिया नेपालको सदावहार मित्र भएको प्रसंग उल्लेख गर्दै हरेक विपतका घडीमा नेपालको साथ दिने धारणा व्यक्त गरे ।
त्यसैगरी आन्दोलनमा भएको भौतिक क्षति पुनःनिर्माणका लागि गणतन्त्र कोरिया सरकारले आवश्यकताको आधारमा सहयोग गर्दै जाने धारणा उल्लेख गरे। राजदूत पार्कले प्रजातान्त्रिक प्रक्रियाको लागि नेपाली जनता र सरकारको भूमिकाको प्रशंसा गरेका थिए ।
कार्यक्रममा दूतावासका कर्मचारी, कोइका, इपीएस, नेपालमा लगानी गरेका कोरियाली उद्यमी लगायत कोरियाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।