मन्त्री घिसिङद्वारा विपद् संकटग्रस्त क्षेत्र इलामको निरीक्षण, तत्काल पुनर्स्थापनाको प्रतिबद्धता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २५ शनिबार
967
Shares
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितहरूलाई राहत वितरण गरेका छन्।
मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायतको उच्चस्तरीय टोलीले प्रभावित क्षेत्रहरूको निरीक्षण एवम् राहत वितरण गरेको थियो।
गत असोज १७, १८ र १९ गते परेको भीषण वर्षाको कारण क्षति भएको मेची राजमार्गअन्तर्गतका विभिन्न खण्डहरूको निरीक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दो छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनर्निर्माणको कार्य भइरहेको बताए।
पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए। उक्त विस्थापित परिवारको अस्थायी आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री घिसिङले भने, "सरकार तपाईंहरूको साथमा छ। पुनर्स्थापनाको रूपमा स्थायी संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइनेछ।"
उनले विपद् पछिको राहत वितरण तथा पुनर्स्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तीनै तहका सरकारहरू मिलेर अगाडि बढाइने समेत प्रतिबद्धता जनाए।