अदानचुली (हुम्ला)। हुम्लाको चङ्खेली गाउँपालिकाको पिप्लाङ नजिकै भएको बोलेरो जिप दुर्घटनामा परी ११ जना घाइते भएका छन्।
आज चङ्खेली गाउँपालिकाको मेल्छामबाट पिप्लाङ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको जिप बेसी खोलाको गोरुठेक्ना भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो। जिप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जङ्गबहादुर सिंहले जानकारी दिएका छन्। जिपमा सवार १२ जनामध्ये ११ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा अधिकांश चङ्खेली गाउँपालिका र सिमकोट–८ का स्थानीय बासिन्दाहरू छन्। घाइतेहरूमा १४ वर्षीया बिमला बुढा, २४ वर्षीय दिपेन्द्र सिंह, आठ वर्षीया अनुपमा रोकाया, दुई वर्षीय दिवाङ्स बुढा, चार वर्षीया जागृति रोकाया, २९ वर्षीय मनवीर बुढा, ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीया वसन्ती रोकाया, २६ वर्षीया पार्वती सिराहा, २४ वर्षीय हँस लामा र २९ वर्षीय कैलाश सिराहा रहेका छन्।
घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको र केहीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र पठाउन लागिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख टिका उपाध्यायले बताएका छन्।