काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टीयु क्रिकेट मैदानको अनुगमन गरेका छन् । बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् ।
टीयू क्रिकेट मैदान राष्ट्रिय महत्वको योजना भएको भन्दै यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टीयू क्रिकेट मैदानलाई प्राथमिकता दिएरै अगाडि बढाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘धेरै खेलको पूर्वाधार बनाउनुपर्ने छ । अरु पनि पूर्वाधारलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । टीयू क्रिकेट मैदान राष्ट्रिय महत्वको योजना हो । यो नेपालको आवश्यकता हो । आम नेपाली जनताको वा खेलाडीको चाहना हो । यसलाई कुनै पनि सरकार आए पनि प्राथमिकता दिएरै अगाडि लानुपर्छ ।’
साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिए । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।
उनले मैदानको पहिलो फेजको काम करिब अन्तिम चरणमा पुगेको र दोस्रो एवं तेस्रो फेजको काम अघि बढेको बताए ।
उनले नेपाल प्रिमियर लिग एनपीएल शुरू हुनुपूर्व नै फ्लर्ड लाइटको काम सक्न निर्देशन दिए । उनले भने ‘१७ नोभेम्बरदेखि एनपीएल शुरू हुँदै छ, सबै काम सक्नुस् ।’
उनले अब ४० दिनभन्दा कमको समय बाँकी रहेको भन्दै दिनरात नभनि काम गर्न पनि निर्देशन दिए ।
निर्माण कम्पनीका प्रतिनिधि सरोज दाहालले काम अन्तिम चरणमा पुगेको बताउँदै एनपीएल अघि तयार हुने बताए ।
अवलोकनका क्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले मन्त्रीसहितको टोलीलाई मैदान निर्माणको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।