काठमाडौँ । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (मंगलबार) निक्षेप संकलन उपकरण मार्फत बजारबाट ९० अर्ब रुपैयाँ खिच्ने भएको छ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र बजार ब्याजदर व्यवस्थित गर्न निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्ने क्रमलाई निरन्तरता दिएको हो। अहिले कुल निक्षेप ७३ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सञ्चालन गरिनेछ, जसको ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ।
यो बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ, जबकि अधिकतम बोल रकम ५ करोड रुपैयाँले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ।
केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। यही व्यवस्था टेकेर केन्द्रीय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।