पहिरोले बेनी–जोमसोम–कोरला सडकमा यातायात प्रभावित, जोखिम मोलेर यात्रा
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २१ मंगलबार
847
Shares
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीमा गएको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्र, मुस्ताङ तथा चीन र भारतलाई जोड्ने यो महत्त्वपूर्ण सडक पहिरोका कारण जोखिमपूर्ण बनेको छ।
कालीगण्डकी नदीको तिरदेखि भगवतीको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि सडकमा यातायात सञ्चालनमा समस्या आएको हो। यातायात व्यवसायी भोजबहादुर थापाका अनुसार सामान्य वर्षा हुनेबित्तिकै पहिरो खस्ने, सडक साँघुरो र हिलाम्मे हुने समस्या छ। करिब आठ सय मिटर अग्लो र दुई सय मिटर चौडाइको पहिरो चलेको यस खण्डमा सडकमुनि कालीगण्डकी नदी छ भने माझखर्कको बस्ती पनि जोखिममा परेको छ।
मुस्ताङ जाने/आउने यात्रुबाहक बस र कोरला नाकामा सामान ओसार्ने ठूला कन्टेनर यही सडक प्रयोग गर्छन्। साँघुरो र गाडी फस्ने भएकाले सिरुवारी पहिरोमा सवारी साधनको जाम हुने गरेको रघुगङ्गा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले बताए। पहिरो क्षेत्र साँघुरो भएकाले दुईतर्फी यातायात सञ्चालन गर्न सकिँदैन। यो बर्खाभरि बेनी–जोमसोम सडकमा सबैभन्दा धेरै अवरोध सिरुवारी र खामभित्तामै भएको छ।
बेनी–जोमसोम–कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेर बर्खायामभरि पहिरो पन्छाउँदै यातायात सञ्चालन गर्दै आएको छ। योजनाका इन्जिनियर विष्णु चापागाईका अनुसार वर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाइ गरिने र सडकलाई दुईतर्फी चलाइनेछ।
उनले सिरुवारीमा ठूलो पहिरो भएकाले यसको रोकथामका लागि अध्ययन भइरहेको र तत्काललाई मर्मत गर्दै यातायात सञ्चालन गरिएको जानकारी दिए। साथै, बेनी–जोमसोम सडकमा पर्ने चमेरे, बैसरी, गुइठेभिर, लाटाखोलाको पहिरो रोकथाम र रुप्से क्षेत्रको पहिरो प्रभावित क्षेत्रमा सडक ढलान गर्ने योजनाको ठेक्का सम्झौताको तयारी पनि भइरहेको छ।