चाडपर्वको खर्च जुटाउन इटहरीका महिलाहरूको सालको पातको व्यापार
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
972
Shares
धरान (सुनसरी)। यहाँको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले यस वर्षका चाडपर्वका लागि खर्च जुटाउन सालको पातको व्यापार गरिरहेकी छन्। उनले उदयपुरको गाईघाट पुगेर पात सङ्कलन गर्ने र हरेक हप्ता इटहरीका विभिन्न हटिया बजारहरूमा बिक्री गर्दै आएको बताएकी छन्।
अरू बेला ज्याला मजदुरीको कामसमेत गर्ने विकका लागि भदौदेखि मङ्सिरसम्म (चाडपर्वको समयमा) यही काम आम्दानीको मुख्य स्रोत बन्ने गरेको छ। उनले सुनाइन्, "अरू बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ।" यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको बताउँदै उनले एक हप्तामा रु आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको जानकारी दिइन्।
इटहरी उपमहानगरपालिका–७ की इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गर्दै आएकी छन्। घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट दसैँ-तिहारको खर्च जोहो हुने गरेको छ। उनले दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको र सानो मुठा रु ४० देखि ६० तथा ठूलो मुठा रु १०० सम्म बिक्री भइरहेको बताइन्। यसबाट मासिक रु ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुने उनको भनाइ छ।
यी दुई महिला मात्रै होइनन्, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेका छन्। पूजापाठ, भोजभतेर, मन्दिर तथा दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत सालको पातको माग उच्च रहेको यसमा संलग्नहरूको भनाइ छ।
यद्यपि, चाडपर्वहरूमा पातको माग अत्यधिक हुने भए पनि ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्दा प्रतिस्पर्धा बढेको र यसले केही समस्या हुने गरेको गुनासो पात बेचेर खर्च जुटाउनेहरूको छ।