डाइभर्सन नहुँदा कोरला भन्सारमा रोकिए १८ मालबाहक ट्रली
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
987
Shares
मुस्ताङ। मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन (अस्थायी बाटो) निर्माण नहुँदा सिनो हाइड्रो पावर कम्पनीका जाँचपास भइसकेका १८ वटा मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्।
जोमसोम–कोरला सडकअन्तर्गतको घमी खोलामा डाइभर्सनको अभावमा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्री बोकेका यी १० पाङ्ग्रे ट्रलीहरू मङ्गलबारदेखि भन्सार कार्यालयमा रोकिएका हुन्।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार कोरलानाकाबाट ढुवानी गरी फर्किएका मझौला खालका कन्टेनरहरू मुस्किलले पार भए पनि यी 'हेभी' मालबाहक ट्रलीको भार अस्थायी पुलले थेग्न नसक्ने भएकाले रोकिएका हुन्। उनले दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरी समस्या समाधान गरिने बताए।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरलानाका पूर्ण रूपमा सञ्चालनमा आए पनि कोरला सडकको घमी खोलामा डाइभर्सन नहुँदा समस्या आएको र व्यापारीसँग समन्वय गरी निर्माणका लागि पहल भइरहेको बताए।
यातायातमा अवरोध सिर्जना गर्ने घमी खोलामा निर्माणाधीन पुल सात वर्ष भइसक्दासमेत सम्पन्न हुन सकेको छैन। विसं २०७५ मा रु ६ करोड ८० लाख लागतमा ठेक्का सम्झौता भएको भए पनि कामले गति लिन सकेको छैन। आयोजनाले निर्माण कम्पनीलाई दैनिक हर्जाना (जरिवाना) समेत लगाइरहेको भए पनि ४० मिटर लामो पुल को हालसम्म ७५ प्रतिशत मात्र भौतिक प्रगति भएको आयोजनाले जनाएको छ।