काठमाडौँ। आज विजयादशमीको बिहान काठमाडौँ उपत्यकाका सडकहरू सुनसान जस्तै देखिएका छन्। दशैँ मनाउन काठमाडौँबाट बाहिरका जिल्लामा जानेहरू गइसकेको र यहीँ बस्नेहरू पनि घरघरमा टीकाको तयारीमा व्यस्त रहेकाले सडकमा न्यून सवारीसाधन मात्र आवागमन भइरहेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल सडकमा यातायातको आवागमन न्यून प्रायः रहेको छ। यद्यपि, टीकाको समय सुरु भएपछि भने टीका लगाउन जाने र आउनेको चहलपहल बढ्ने अनुमान कार्यालयले गरेको छ।
कार्यालयको तथ्याङ्कअनुसार, दशैँको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिएको देखिन्छ।