दशैँमा सस्तियो भेडाच्याङग्राको मूल्य, प्रतिगोटा पाँच हजारसम्म घट्यो
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
935
Shares
म्याग्दी। यस वर्ष दशैँ पर्व को लागि मुस्ताङबाट बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्यमा भारी गिरावट आएको छ। व्यापारी र उपभोक्ताका अनुसार, गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजारसम्म घटेको छ भने जिउँदो मासुको मूल्य प्रतिकिलोग्राम रु. ५० देखि रु. १०० सम्म कम भएको छ। बेनीका उपभोक्ता भरत रकालले गत वर्ष रु. ४० हजारमा किनेको च्याङग्रा यस वर्ष रु. ३५ हजारमै पाएको बताए। मूल्य सस्तिएपछि मध्यम वर्गका उपभोक्तालाई लेकाली मासु उपभोग गर्न सहज भएको छ।
नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले मूल्य घट्नुमा आपूर्तिको वृद्धि र देशको असहज परिस्थिति लाई मुख्य कारण बताएका छन्। डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु तथा मुस्ताङमा च्याङग्रापालन बढ्नु ले आपूर्ति बढेको छ। यसका साथै, ‘जेन–जी पुस्ता’को आन्दोलन पछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले व्यापारीले मूल्य घटाउनुपरेको श्रेष्ठले बताए। गत वर्ष काठमाडौँमा जिउँदो च्याङग्रा प्रतिकिलो रु. १,३०० मा बिक्री भएकोमा यसपाली रु. १,२५० का दरले बिक्री भएको छ।
दशैँका लागि भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हुन्। तर, तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरहरूमा यस वर्ष मुस्ताङबाट मात्र भेडाच्याङग्रा आपूर्ति भएको छ।
यस वर्ष रु. ३५ करोडभन्दा बढी मूल्य बराबरको १४ हजार ६ सय ६८ भेडाच्याङग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ। तीमध्ये सात हजार ६ सय ६८ मुस्ताङका किसानले पालेका थिए। किसानले अधिकतम च्याङग्रालाई रु. ३५ हजार र भेडा (च्यालु)लाई रु. २८ हजार मा बेचेका छन्।
मुस्ताङको उपल्लो भेग (वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका) मा ५० हजार च्याङग्रा पालिएका छन्, जुन त्यहाँका कृषकको मुख्य आयस्रोत हो। च्याङग्रा पालक किसानले हिउँचितुवा र ब्याँसोको आक्रमण बाट बचाउनु पर्ने तथा पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँसको अभाव हुनेजस्ता चुनौतीहरूको सामना गरिरहेका छन्।