arrow

जेन–जी प्रदर्शनका क्रममा भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
nepal-police12.jpg

गोरखा । हालै देशमा भएको ‘जेन–जी’ प्रदर्शन का क्रममा विभिन्न कारागार र सुधार गृहबाट भागेका १२ जना कैदीबन्दीलाई गोरखाबाट पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये कास्की कारागारका सात र केन्द्रीय कारागार जगन्नाथदेवलका तीन जना कैदीबन्दी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भरतबहादुर विकका अनुसार, तनहुँ कारागारबाट भागेका एक जना र बालसुधार गृह सानोठिमी, भक्तपुरबाट भागेका एक जना कैदीबन्दीलाई पनि पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागार तथा सुधार गृहमा पठाइएको छ।

प्रहरी उपरीक्षक विकले दिएको जानकारीअनुसार, कास्की कारागारबाट भागेर गोरखा आइपुगेका विक्रम नेपाली, तेन्जिङ रिग्देल लामा, छेवाङ रिजिन लामा, सोनाम ल्याल्जेन लामा, बाबुराम नेपाली, राजेश विश्वकर्मा सुनार र सोनामा दोर्जे लामा लाई पक्राउ गरिएको छ।

त्यसैगरी, केन्द्रीय कारागार जगन्नाथदेवलबाट भागेका भरत ठकुरी, सुमन सुनदास र भुवन तामाङ लाई पक्राउ गरी सम्बन्धित कारागार चलान गरिएको छ। तनहुँ कारागारबाट भागेका विशाल उपरकोटी र बालसुधार गृह सानोठिमी, भक्तपुरबाट भागेकी सुस्मा मग्राती लाई पनि गोरखाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरी उपरीक्षक विकका अनुसार, पक्राउ परेका सबैलाई केही समय जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा राखी कानुनी प्रक्रिया पूरा गरेर सम्बन्धित कारागार चलान गरिसकिएको छ। पक्राउ परेकामध्ये अधिकांश गोरखा घर भएका र केही जिल्ला बाहिर घर भएकाहरू रहेको उनले बताएका छन्। प्रदर्शनका क्रममा भागेका अन्य कैदीबन्दीहरूको खोजी कार्य जारी रहेको पनि उनले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ