काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जेन-जी पुस्ताले उठाएका मागहरू भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्ने रहेको बताएका छन्। उनले यी मागहरूलाई गम्भीरतापूर्वक लिएर देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।
नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा भएका विभिन्न बेथितिको अन्त्य गरेर स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउने युवापुस्ताको चाहना पूरा गर्नुपर्ने बताए।
मन्त्री घिसिङले सुशासनको विषयलाई गम्भीर रूपमा लागू गर्नुपर्ने भन्दै मातहतका सबै कर्मचारी र निकायलाई सचेत गराएका छन्। उनले जनताको सेवामा कमी हुन नदिन र कुनै पनि किसिमको अनियमितता तथा भ्रष्टाचारलाई क्षम्य नहुने स्पष्ट पारेका छन्।
उनले अनियमितता वा भ्रष्टाचारको गन्ध आए तत्काल कारबाही गर्ने चेतावनी दिँदै भने, “अब पनि हामी चुक्यौँ र त्यस्तो गतिविधि भए यो देशमा अर्को ठूलो विद्रोह हुन्छ, त्यसले कसैलाई छोड्ने छैन।” उनले हालको अवस्था ठूलो जनधनको क्षति भएको एउटा आक्रोश पनि भएको बताए।
मन्त्री घिसिङले विशेषगरी प्राधिकरणभित्र सुशासन कायम गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिएका छन्।