कृषि मन्त्री परियारको वचन– मल अभावको समस्या हटाउने प्रयास गर्छु [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
1.3k
Shares
काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पदभारसमेत सम्हालेका मन्त्री परियारले मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए । मल आयात भएको खबर सार्वजानिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए ।
उनले भने, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहिँ समयमा उपलब्ध हुन सक्दैन । किन पटक पटक चाँही यति टन मल आइरहेको छ, आजभोलि यो जान्छ भन्ने पत्रपत्रिकामा आइरहेको छ । त्यो किन भएन भन्ने कुरा चाहिँ मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’
उनले कृषकको हित हुने काम गर्ने बताए। वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेतिथि नियन्त्रण गर्ने भएकाले सोही अनुरुप आफुहरुले काम गर्ने उनको भनाई छ ।