मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको बढ्यो चहलपहल
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
659
Shares
म्याग्दी। शरद ऋतुको सुरुवातसँगै म्याग्दीस्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकहरूको चहलपहल बढेको छ। हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको यात्रामा गइरहेका छन्। दसैं-तिहारको बिदा सुरु भएपछि पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ।
अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाका अनुसार, यो पदमार्ग पर्यटकका लागि छोटो र शान्त यात्राको उत्कृष्ट विकल्प बनेको छ। मिस्त्रीखोलाको किनारै-किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, दुर्लभ वनस्पति, वन्यजन्तु र अनौठो भू-बनोटको अवलोकन गर्दै आधार शिविरमा पुग्न सकिन्छ। नारच्याङबाट दुई घण्टाको गाडी यात्रापछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिने भएकाले यो पदमार्ग लोकप्रिय बनेको हो।
विशेषगरी, सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउन चाहने पर्यटकका लागि यो पदमार्ग उपयुक्त मानिएको छ। आधार शिविरको शान्त र एकान्त वातावरण, फुर्फुते झरना र अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङको पञ्चकुण्ड ताल यसका मुख्य आकर्षण हुन्।
फ्रान्सका पर्वतारोही मौरिस हर्गोजले ७५ वर्षअघि अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटोलाई नै सन् २०६७ मा पहिचान गरी २०७७ मा अन्नपूर्ण गाउँपालिकाले मौरिस हर्गोज पदमार्ग नामाकरण गरेको थियो। गाउँपालिकाले यहाँ आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी र पदमार्ग मर्मतजस्ता कार्यहरू गरेको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा विभिन्न ठाउँमा पुल निर्माण गरिनुका साथै स्थानीय युवाहरूले चिया पसल र क्याम्पिङ सञ्चालन गरेका छन्। यसले पर्यटकलाई बन्दोबस्तीका सामान बोक्नुपर्ने बाध्यताबाट मुक्ति दिएको छ र स्थानीयस्तरमा रोजगारीका अवसरहरू पनि सिर्जना भएका छन्। ती क्याम्पिङ क्षेत्रहरूमा दैनिक ५० जनासम्म पर्यटक बस्न सक्ने क्षमता रहेको छ।