arrow

जिल्ला प्रशासनमा नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
cdo-chitwan.jpg

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ ।

गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनीका हुँदा क्षति भई बन्द गरिएका सेवाहरू शुरू गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार नयाँ नागरिकता, प्रतिलिपि, नाबालक परिचयपत्र निर्माणलगायत सेवा शुरू गरिएको हो ।

भरतपुर महानगरपालिकाका हार्दिक न्यौपाने र सविन महतोलाई प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता प्रदान गरी सेवा प्रारम्भ गरेका हुन् ।

उनले भने, “प्रदर्शनपछि उठेर सेवामा लागेका छौँ । हामी उठ्याैँ, उठेर सबै जुट्यौँ, जसका कारण सेवा प्रारम्भ अन्य जिल्लाको भन्दा चाँडो गर्न सक्यौँ ।”

जेनजी प्रदर्शनका क्रममा आगलागी गरिएका भवनको सरसफाइ गरेर सीमित कोठाबाट सेवा प्रवाह गरिएको उनले जानकारी दिए । योसँगै केही दिनभित्र राष्ट्रिय परिचयपत्रको कामसमेत सञ्चालन गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

यसैबीच सघन सहरी तथा भवन निर्माण कार्यालय चितवनले आगलागीबाट जिल्लाका सरकारी कार्यालयमा भएको क्षतिको निरीक्षण गर्नुका साथै भवनको अवस्थाबारे अध्ययन शुरू गरेको छ ।

जिल्लामा रहेका सरकारी कार्यालय कतिमा काम गर्न सक्ने अवस्था छ वा छैन भन्ने बारेमा जानकारी लिँदै यसको लागत सङ्कलन तयार पारिने कार्यालयका प्रमुख झपटबहादुर कार्कीले बताए ।

कार्यालयले अध्ययनसँगै प्रत्येक कार्यालयमा तीनवटा स्टिकर टाँस गर्नेछ । रातो, पहेँलो र हरियो रङका स्टिकर टाँस गरिने उनले बताए ।

रातो रङको स्टिकर टाँस गरिएको भवनमा काम गर्न नसकिने, पहेँलो टाँस गरिएका ठाउँमा मर्मत गरेर काम गर्नुपर्ने र हरियो टाँस गरिएका ठाउँमा काम गर्न सकिने भन्ने हुन्छ ।

उनले भने, “प्रदर्शनका क्रममा क्षति भएका भवनहरूको वास्तविक विवरण सङ्कलन गरेर विभागमा पठाइने छ ।” रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ