arrow

शुक्रबारदेखि यात्रु अलपत्र 

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने काम जारी

मुग्लिनतर्फ तीन र नारायणगढतर्फ दुई गरी पाँचवटा उपकरण प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
narayanghad-mugling-landslide-82-6-4.jpg

काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज (आइतबार) बिहानैदेखि पुनः सुरु गरिएको छ। शुक्रबार साँझ खसेको पहिरो शनिबार दिनभर पन्छाउँदा पनि नसकिएपछि राति काम रोकिएको थियो।

डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार, पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले समय लागिरहेको छ। पहिरो हटाउन मुग्लिनतर्फ तीन र नारायणगढतर्फ दुई गरी पाँचवटा उपकरण प्रयोग गरिएको छ। यदि थप पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा आउन सक्ने उनले बताए।

करिब ७० मिटर माथिबाट खसेको पहिरोले १६० मिटर सडक ढाकेको छ, जसको चौडाइ १० मिटर र उचाइ १६ मिटर छ।

सडक अवरुद्ध हुँदा शुक्रबारदेखि अलपत्र परेका यात्रु तथा सवारी साधनहरू दुवैतर्फ रोकिएका छन्। यसैबीच, जेसीज इच्छाकामनाको अगुवाइमा स्थानीय युवाहरूले शनिबार अलपत्र यात्रुहरूलाई निःशुल्क खाना र खाजा वितरण गरेका छन्।

जेसीजका उपाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार, यात्रुहरूका लागि खाना, खाजा र मगर समाज मुग्लिनको भवनमा सुत्ने व्यवस्था पनि मिलाइएको थियो। जिल्ला प्रशासन कार्यालयले पनि शनिबार यात्रुहरूलाई पानी र खाद्यान्न वितरण गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले अहिले पहिरो पन्छाउने काम द्रुत गतिमा भइरहेको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ