कांग्रेस बैठक सानेपामा, विशेष महाधिवेशन अपरिहार्य [तस्बिर]
जेन-जीका माग सम्बोधन गर्न जोड, नयाँ पुस्ताको भूमिका सुनिश्चित गर्नुपर्ने आवाज
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
1.3k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। भदौ २४ गते अज्ञात समूहद्वारा तोडफोड र आगजनी भई पूर्ण क्षति पुगेको कार्यालय सामान्य सरसफाइपछि पहिलोपटक पार्टी बैठक त्यहीँ बसेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको अनुपस्थितिमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा हालै जेन-जी पुस्ताले अघि सारेको आन्दोलन, त्यसपछिका राजनीतिक घटनाक्रम र सरकारद्वारा घोषणा गरिएको निर्वाचनबारे विस्तृत छलफल भएको छ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, उपसभापति खड्का लगायत नेताहरूले आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । विशेषगरी जेन-जी आन्दोलनले उठाएका प्रश्नप्रति कांग्रेसले दिने औपचारिक जवाफ र आगामी रणनीतिबारे नेताहरूबीच फरक–फरक मत राखिएको स्रोतले जानकारी दिएको छ।
यसै क्रममा पार्टीभित्र पछिल्लो समय चर्कँदै गएको विशेष महाधिवेशनको माग पनि बैठकमा उठेको छ। जेन-जी आन्दोलनले पुरानो नेतृत्वलाई चुनौती दिँदै नयाँ पुस्ताको भूमिका सुनिश्चित गर्नुपर्ने आवाज उठाएपछि कांग्रेसभित्र विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा केही नेताहरूले प्रस्तुत गरेका छन् । उनीहरूको भनाइमा आन्दोलनले देखाएको असन्तुष्टि सम्बोधन नगरे दलभित्रको अस्थिरता झन् गहिरिन सक्छ ।
अर्को धारले भने पार्टीलाई नियमित महाधिवेशन प्रक्रियाबाट अघि बढाउनुपर्ने र विशेष महाधिवेशनले संगठनलाई अझ विभाजनतर्फ लैजाने शंका व्यक्त गरेको छ । यसले पार्टी नेतृत्व चयन र संगठन संरचनामा नयाँ खालको बहसलाई चर्काएको छ ।
बैठकमा पार्टी कार्यालय पुनर्निर्माण, आन्दोलनले उठाएका मुद्दा सम्बोधन गर्ने कार्ययोजना र चुनावी रणनीति तयार गर्ने विषयमा समेत छलफल भएको छ।