बागमती। जेन-जी आन्दोलनका क्रममा हेटौँडाका विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट चोरी र लुटपाट भएका सामानहरू खोज्न मकवानपुर प्रहरी सक्रिय भएको छ। परिस्थिति सामान्य बन्दै गएपछि प्रहरीले सीसीटीभी फुटेज र सामाजिक सञ्जालमा देखिएका दृश्यहरूको आधारमा सामान खोजी सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, खोजीका क्रममा फेला परेका कम्प्युटर, प्रिन्टर, कुर्सी लगायतका सामानहरू सम्बन्धित कार्यालयलाई हस्तान्तरण गरिएको छ।
प्रवक्ता अर्यालका अनुसार, प्रहरीले खोजी गरी विभिन्न सरकारी निकायलाई हस्तान्तरण गरेका सामानहरू निम्न छन्:
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट: ४ थान कम्प्युटर, ३ थान दराज, ३ थान प्रिन्टर, १ थान फोटोकपी मेसिन, ६ थान कुर्सी, १ थान इन्भर्टर, १ थान फ्रिज, ४ थान ब्याट्री, ३१ थान स्पिकर सेट, १ थान पंखा र १ थान हार्ड डिस्क।
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट: ३ थान कम्प्युटर, १ थान ल्यापटप, १ थान टुल कुर्सी र १ थान इन्डक्सन चुलो।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट: ५ थान कम्प्युटर, ३ थान कुर्सी, १ थान प्रिन्टर, १ थान र्याक र १ थान इलेक्ट्रिक जग।
अन्य कार्यालयबाट चोरी भएका सामानहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
भदौ २४ गतेको आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले बागमती प्रदेश सरकारका १० वटा मन्त्रालय, प्रदेशसभा भवन, प्रदेश प्रमुख सचिवको निजी निवास, सरकारी वकिल, नापी, मालपोत कार्यालय, उच्च अदालत पाटन हेटौँडा इजलास लगायतका कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए।
यसका अतिरिक्त, हेटौँडा–२ मा रहेको भाटभटेनी सपिङ कम्प्लेक्स, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर, नेकपा (एमाले) नेता एकालाल श्रेष्ठको घर र अजयराज सुमार्गीको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका थिए।