गृहमन्त्री अर्यालद्वारा ट्राफिक प्रहरी कार्यालयको अनुगमन
देशलाई नष्ट गर्ने काम नगरौँ: गृहमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
770
Shares
काठमाडौं । गृह तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मंगलबार अनुगमन गरेका छन्।
कार्यालयको अनुगमनपछि बोल्दै गृहमन्त्री अर्यालले देशलाई नष्ट गर्ने काम कसैले पनि गर्न नहुने बताए। सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमाथि क्षति पुर्याउनु अपराध भएको उनको भनाइ छ। उनले अहिले भएको क्षतिलाई व्यहोरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।
गृहमन्त्री अर्यालले तत्कालका लागि भौतिक पुनर्निर्माणभन्दा पनि आचरण र पद्धतिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने बताए। उनले भने, “हामी नेपाली हौं। यो हाम्रो मातृभूमि हो। जतिसुकै कठिन भए पनि हामीले व्यहोर्नैपर्छ। त्यहीँबाटै उठ्ने हो।”
गृहमन्त्री अर्यालले क्षतिग्रस्त कार्यालयको मूल्याङ्कनका लागि एउटा कार्यदल गठन गरिने जानकारी दिए। सो कार्यदलको प्रतिवेदनका आधारमा बजेट छुट्याएर पुनर्निर्माण गरिने उनको भनाइ छ।
केही भवनहरू मर्मत गरे मात्र पुग्ने र केहीलाई भने भत्काएर पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए। उनले क्षतिग्रस्त सबै संरचनाहरूको पुनर्निर्माणका लागि राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गर्ने पनि जानकारी दिए।