नेपालको विदेशी मुद्रा सञ्चिति २८ खर्ब नाघ्यो, आयात धान्ने बढ्यो क्षमता
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
936
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, चालू आर्थिक वर्षको पहिलो महिना (साउन) सम्ममा मुलुकको विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ। कूल विदेशी विनिमय सञ्चिति रु २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ, जुन गत असारको तुलनामा ४.८ प्रतिशतले बढी हो। अमेरिकी डलरमा पनि यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ४ प्रतिशतले बढेर रु २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ, जबकि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको सञ्चिति १२ प्रतिशतले बढेर रु २ खर्ब ९४ अर्ब ५८ करोड पुगेको छ। यस सञ्चितिले २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिएको छ।
समीक्षा अवधिमा देशको चालु खाता रु ७८ अर्ब १४ करोडले बचतमा रहेको छ, जुन गत वर्षको सोही अवधिको बचतभन्दा दोब्बरभन्दा बढी हो। यस्तै, शोधनान्तर स्थिति पनि रु ८९ अर्ब ३० करोडले बचतमा रहेको छ, जुन गत वर्षको तुलनामा निकै राम्रो सुधार हो। यस अवधिमा रु ६९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। यी तथ्याङ्कहरूले नेपालको बाह्य अर्थतन्त्रको अवस्था सकारात्मक रहेको देखाउँछन्।