काभ्रेमा जेन-जी आन्दोलनबाट भएको क्षतिको विवरण सङ्कलन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
802
Shares
काभ्रेपलाञ्चोक। ‘जेन-जी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोक जिल्लामा सरकारी तथा निजी संरचनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा क्षतिग्रस्त कार्यालय र व्यक्तिहरूको सहभागितामा क्षतिको विवरण सङ्कलन भइरहेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ का अनुसार, सम्बन्धित सरकारी कार्यालयले आफैँ क्षतिको विवरण तयार पारी पठाउनेछन्, जबकि निजी सम्पत्तिको क्षतिको विवरण स्थानीय प्रहरी र जनप्रतिनिधिको सहयोगमा सङ्कलन गरिनेछ। सबै विवरण करिब एक हप्ताभित्र सङ्कलन भइसक्ने अपेक्षा गरिएको छ।
प्रशासनको प्रारम्भिक विवरणअनुसार जिल्लाका १८ भन्दा बढी सरकारी र निजी संरचनामा ठूलो क्षति पुगेको छ। विशेष गरी नगरपालिका भवन, प्रहरी कार्यालय र जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी गरिएको छ।
क्षतिग्रस्त संरचना र सम्पत्ति
बनेपा नगरपालिका कार्यालय: तोडफोड र आगजनी हुँदा महत्त्वपूर्ण कागजात र केही सवारीसाधन पूर्ण रूपमा नष्ट भएका छन्।
प्रहरी कार्यालयहरू: इलाका प्रहरी कार्यालय बनेपा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल र पनौतीका प्रहरी चौकी तथा हिँगुवापाटीसहितका प्रहरी बिटमा तोडफोड र आगजनी गरिएको छ।
अन्य सरकारी कार्यालय: पनौती नगर, पाँचखाल नगर, र सुनकोशी–पाँचखाल खानेपानी आयोजनाको कार्यालयमा समेत तोडफोड भएको छ।
राजनीतिक दलका कार्यालय: नेकपा (एमाले) र नेपाली कांग्रेसको कार्यालयमा तोडफोड र आगजनी गरी क्षति पुगेको छ।
व्यक्तिगत सम्पत्ति: नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जू, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, पनौतीका पूर्व नगरप्रमुख भीम न्यौपाने, वडाध्यक्ष पुरुषोत्तम अधिकारी र व्यवसायी रामेश्वर थापा को घरमा लुटपाट र आगजनी भएको छ।
धुलिखेल कारागार: कैदीबन्दीले तोडफोड र आगजनी गर्ने प्रयास गरे पनि तत्कालै दमकल प्रयोग गरेर नियन्त्रणमा लिइयो।
अन्य: एक हेलिकप्टरमा समेत आगजनी गरिएको थियो।
आन्दोलनका क्रममा काभ्रेका दुई जनाले काठमाडौँमा ज्यान गुमाएको पनि बताइएको छ।