काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले देशको वर्तमान तरल अवस्थालाई मध्यनजर गर्दै तत्काल अन्तरिम सरकार गठन गर्न माग गरेको छ। विहीबार एक विज्ञप्ति जारी गर्दै समाजले लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने र त्यो आत्मघाती कदम हुने चेतावनी दिएको छ।
समाजकी सभापति रेनुका पौडेलले जारी गरेको विज्ञप्तिमा जेन-जी पुस्ताले आह्वान गरेको भ्रष्टाचार विरोधी आन्दोलनलाई नेपालको इतिहासमा एउटा अभूतपूर्व घटनाको रूपमा चित्रण गरिएको छ।
शान्ति समाजले आन्दोलनका क्रममा भएको १९ जना युवाको हत्याको कडा शब्दमा निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, तत्कालिन सरकारले आफ्नो सत्ता जोगाउन गरेको निर्मम गोली प्रहारको घटना अत्यन्तै दुःखद छ। यद्यपि, आन्दोलनको सफलतापछि सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति, लुटपाट र प्रेस संस्थाहरूमा भएको आगजनीलाई भने समाजले 'दुर्भाग्यपूर्ण' भनेको छ। अहिंसाको दर्शनमा विश्वास राख्ने शान्ति समाजले यस्ता घटनाको सधैँ निन्दा गर्दै आएको पनि जनाएको छ।
आन्दोलनको सफलतापछि देशमा एक प्रकारको राजनीतिक रिक्तता उत्पन्न भएको र कानुनविहीनताको अवस्था आउन सक्ने भन्दै शान्ति समाजले छिटोभन्दा छिटो अन्तरिम सरकार गठनको आवश्यकतामा जोड दिएको छ। विज्ञप्तिमा भनिएको छ, यस्तो सरकारको मुख्य दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुनर्बहाली, अहिंसा, सद्भाव र सहिष्णुताको प्रवर्द्धन, पुनर्निर्माण र स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ।
जेन-जीको मागबमोजिम राष्ट्रपतिले तत्काल अन्तरिम सरकार नियुक्त गर्नेमा समाज आशावादी रहेको छ।
शान्ति समाजले संविधान संशोधनको बहसलाई सार्थक रूपमा अघि बढाउने गहन दायित्व अब जेन-जी पुस्तामा आएको बताएको छ। तर, संविधान संशोधनको काम भने अन्तरिम सरकारले गराउने निर्वाचनपछि गठन हुने नयाँ संसद्को हुने कुरा पनि समाजले सबैलाई स्मरण गराएको छ।