म्याग्दीको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
508
Shares
म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकामा लामो समयदेखि बन्द रहेको ओखरबोट तामाखानी पुनः सञ्चालनका लागि अन्वेषण शुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त एमस दोङयी मिनरल्स प्रालिको टोलीले स्थलगत अध्ययन थालेको हो।
भूगर्भविद् रोनित पौडेलका अनुसार, प्रारम्भिक चरणमा खानीमा तामाको मात्रा र वातावरणीय प्रभावको अध्ययन गरिनेछ। यसको प्रतिवेदन पारित भएपछि थप खोज र उत्खननको प्रक्रिया अगाडि बढ्नेछ।
ओखरबोटको यो खानी वि.सं. २०२८ सम्म स्थानीय प्रविधिबाट सञ्चालनमा थियो। त्यसबेला यहाँ दैनिक दुई सयभन्दा बढी कामदारले काम गर्ने र दिनमा सात-आठ धार्नीसम्म तामा निकाल्ने गरिन्थ्यो। प्रविधिको अभाव र अत्यधिक करका कारण खानी बन्द भएको स्थानीय ७२ वर्षीय विसराम पटेलले बताए।
हाल पनि खानीका दुईवटा मुहानमा तामाका धाउहरू देख्न सकिन्छ। यी मुहानहरूको लम्बाइ २५० देखि ५०० मिटरसम्म रहेको छ, जसमध्ये २०० मिटरसम्म भित्र जान सकिन्छ।
स्थानीय बासिन्दाहरूले खानी पुनः सञ्चालन हुनेमा खुसी व्यक्त गरेका छन्, तर वातावरणीय जोखिम र विस्थापनको चिन्ता पनि व्यक्त गरेका छन्। उनीहरूले खानी उत्खनन शुरु हुनुअघि बस्ती स्थानान्तरण र रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन माग गरेका छन्।
म्याग्दीको ओखरबोटमा मात्र नभई धवलागिरि र रघुगङ्गा गाउँपालिकाका विभिन्न २१ स्थानमा पनि तामाखानीहरू रहेका छन्। खानी सञ्चालन नहुँदा खानी खन्न पोख्त अल्पसङ्ख्यक छन्त्याल जातिको परम्परागत सीप पुस्तान्तरण हुन सकेको छैन।