तामझामसहित शुरू भयो एमालेको दोस्रो विधान महाधिवेशन [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
638
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित महाधिवेशन ललितपुरको सनराइज सभा हलमा शुरु भएको हो ।
महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे । ललितपुरको गोदावरी मूल सडकदेखि सभा हल छिर्ने प्रवेशद्वारसम्म महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकलगायतलाई स्वयंसेवकहरूले व्यवस्थापन तथा सहजीकरण गरिरहेका छन् ।
महाधिवेशन हलमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची व्यवस्थित गरिएको छ । दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डाले मञ्च सजाइएको छ ।
मञ्चको दायाँ, बाँया टुँडाल शैलीमा साना डिजिटल बोर्ड राखिएका छन् । यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्बिर राखिएका छन् ।
महाधिवेशनमा आज राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्तावेज र विधान संसोधन प्रस्ताव प्रस्तुत हुनेछ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।