सांसदहरूद्वारा विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
615
Shares
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले विधेयक निर्माणमा विगतमा भएका गल्तीप्रति आत्मासमीक्षा गर्दै यसमा सबैजना जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरुले विधेयक निर्माणमा भएको त्रुटिको आत्मसमीक्षा गरेका हुन् ।
बैठकमा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले समितिको काम ठिक ढंगले भएन भन्ने आत्मासमीक्षा आफूले गरेको बताए । विगतको विधेयकमा भएको त्रुटीलाई गम्भीर पाठको रुपमा लिएर अगाडि जानुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘समितिको काम ठिक ढंगले गरेनौँ भन्ने आत्मासमीक्षा मैले गरेको छु । संसदमा अवसर पनि मिलेको थियो राम्रोसँग हेर्नुपर्दथ्यो । तर त्यो गरेनौँ । आगामी दिनमा सबैले यसलाई गम्भीर पाठको रुपमा लिएर जानुपर्छ ।’
उनले समितिमा विचाराधीन रहेका विधेयक तत्काल अघि बढाउन आवश्यक रहेको पनि बताए ।
नेपाली कांग्रेसका सांसद गगन थापाले विधेयकमा जुन त्रुटि भयो, यसमा आफू लगायतसमितिका सांसदहरु उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा राखे । यो अनुभवले समितिको कामलाई अझ निखार्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
उनले भने, ‘विधेयकमा जुन त्रुटि भयो, यसमा म लगायत यो समितिका सांसदहरु उत्तिकै जिम्मेवार हुनुपर्छ । यो अनुभवले हामीलाई र हाम्रो कामलाई अझ निखार्न पनि महत्वपूर्ण भूमिका खेल्नेछ ।’
यसैगरी नेकपा एमालेका सांसद पदम गिरीले निश्चित समय तोकेर विधेयक अघि बढाउन सुझाए ।
‘निश्चित समय तोकेर विधेयक अघि बढाउनुपर्छ, त्यो नभएसम्म नागरिकको गुनासो आइरहन्छ । अरुलाई सुशासनको पाठ पढाउने तर हामीले पालना नगर्ने भन्ने हुनुहुँदैन’, उनले भने।