दशैंअघि बीपी राजमार्ग मर्मत गरिने, रातिको यात्रामा रोक
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
525
Shares
काभ्रेपलाञ्चोक। भक्तपुर डिभिजन सडक कार्यालयले बीपी राजमार्गलाई आसन्न चाडबाडमा निर्वाध सञ्चालन गर्न दुई हप्ताभित्र पुनः मर्मत गर्ने जनाएको छ। गत वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनाएपछि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको यो सडकमा जोखिम कायमै छ।
गत वर्षको असोजमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको २९ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको छ। तीमध्ये आठ किलोमिटर सडक पूर्णरूपमा बगाएको थियो।
भक्तपुर सडक डिभिजनका प्रमुख सुमन योगेश ले यस वर्षको मनसुनमा राजमार्ग अवरुद्ध हुन नदिएको र अब दशैंलाई लक्षित गरी खाल्डाखुल्डी पुर्दै सडक सुधार गरिने बताए। बाढीपहिरो आए तत्काल हटाउन ठेकेदार कम्पनीका १५ र डिभिजन कार्यालयका सातवटा उपकरण तयारी अवस्थामा राखिएको छ।
राजमार्गको जोखिमलाई मध्यनजर गर्दै भदौ १६ गतेदेखि थप १५ दिनका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयका अनुसार, यात्रुवाहक तथा निजी सवारी साधनको आवागमनमा रोक लगाइएको हो।
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडको समयमा यो संख्या तेब्बरले बढ्छ। जापान सरकारको अनुदान सहयोगमा निर्मित यो राजमार्ग काठमाडौंलाई मध्यपहाडी र पूर्वी नेपालसँग जोड्ने छोटो मार्ग मानिन्छ। क्षतिग्रस्त सडकको स्थायी पुनर्निर्माणको काम भने मनसुन सकिएपछि मात्रै सुरु हुनेछ।