काठमाडौँ । चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलन सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन् ।
बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ सँग भेटवार्ता गर्नेछन् र उनीद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ। प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच भने थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको अन्तिम कार्यक्रमका रूपमा नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ। सोही दिन प्रधानमन्त्री नेतृत्वको टोली नेपाल फर्कनेछ।