रुपन्देहीको विषयलाई त्यति महत्व दिइएको छैन : कुलमान
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १४ शनिबार
648
Shares
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने बताएका छन् ।
बेलायत भ्रमणबाट फर्किने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सामाजिक, आर्थिक र राजनीतिकलगायत समग्र क्षेत्रलाई रुपान्तरणको लागि यो अभियानले एउटा जागरण ल्याउछ र युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व लिनको लागि प्रेरित गराउँछ ।’
उनले भने, ‘देशभित्र एउटा आत्मनिर्भर अर्थतन्त्र बनाउँदै देशभित्र रोजगारी, सुशासन कसरी सिर्जना गर्ने भन्ने विषयमा पनि यसले जागरण ल्याउछ र देशभित्र नीति र नेतृत्व सहि हुनुपर्छ र त्यसको लागि पनि यसले एउटा दबाब सिर्जना गर्छ यो अभियान एउटा राष्ट्रिय अभियानको रुपमा अगाडि बढ्नु पर्छ भनेर हामी लागेका छौँ ।’
यसमा यो भ्रमणहरुले धेरै महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
उनले भ्रमणका क्रममा जुन जुन व्यक्ति र संस्थासँग अन्तरक्रिया भयो त्यो एकदमै फलदायी र सफलतापूर्वक भएको बताए ।
उक्त भ्रमणले आगामी दिनमा आफ्ना पाइला अगाडि बढ्नका लागि एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
उनले भने, ‘म विद्युत प्राधिकरणबाट बाहिर निस्किएपछि, मलाई विभिन्न संघ संस्थाहरुले निमन्त्रणा गर्नु भएको थियो । त्यो निमन्त्रणालाई स्वीकार गरेर पनि गएको हुँ । त्यो क्रममा जुन जुन व्यक्ति र संस्थासँग मेरो अन्तरक्रिया भयो त्यो एकदमै फलदायी, सफल र राम्रो भएको छ । यसले आगामी दिनमा मेरो पाइला अगाडि बढ्नको लागि पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छ भन्ने लाग्छ । यो उज्यालो नेपाल अभियान भनेर हामीले जुन भन्ने गरेका छाैँ । यसबारे देश विदेशमा रहेका सबैलाई स्पष्ट पार्नका लागि पनि यो भ्रमण फलदायी रह्यो ।’
यस्तै, उनले सामाजिक, आर्थिक र राजनीतिकलगायत समग्र क्षेत्रलाई रुपान्तरणको लागि यो अभियानले एउटा जागरण ल्याउने भन्दै युवा शक्तिलाई सबै क्षेत्रमा नेतृत्व लिनको लागि पनि यसले प्रेरित गर्ने बताए ।
उनी अमेरिकाको छ वटा स्टेटमा करिब १२ वटा कार्यक्रममा सहभागी हुनुको साथै उज्यालो नेपालसँग सम्बन्धित विषयमा धेरै नै राम्रो सुझाव, छलफल र बहस भएको उनको भनाइ छ ।
पत्रकारले रुपन्देहीको चुनावबारे प्रश्न गर्दा उनले एउटा ठाउँका लागि भनेर अभियान सुरु नगरेको भन्दै रुपन्देहीको विषयलाई त्यति महत्व नदिएको बताए ।
उनले भने, ‘बाहिर रहेका युवाहरुको बुझाई भनेको नेपाल रुपान्तरण हुनुपर्छ र नेपालमा अब समृद्धि आउनु पर्छ भन्ने हो ।’