काठमाडौँ। नेपाल सरकारले चन्द्रकुवेर खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आइजीपी) नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई आइजीपी बनाउने निर्णय गरेको हो।
वर्तमान प्रहरी महानिरीक्षक दीपक थापा कुँवर आगामी भदौ १८ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि खापुङलाई यो जिम्मेवारी दिइएको हो। नवनियुक्त आइजीपी खापुङले आगामी भदौ १९ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नेछन्।
को हुन् खापुङ ?
खापुङ २०५२ साल कार्तिक २७ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए। उनले आफ्नो सेवाकालमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन्। एसपी हुँदा प्रहरी हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा काम गरेका उनले एसएसपीको रूपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड सम्हालेका थिए। हालै एआईजीमा बढुवा भएका खापुङले कोशी प्रदेशको प्रहरी प्रमुख भएर पनि काम गरिसकेका छन्।
खापुङसँगै एकै लटमा भर्ना भएकामध्ये पहिलो लटबाट वसन्त कुँवर आइजीपीबाट अवकाशमा गइसकेका छन् भने दोस्रो लटबाट दीपक थापा कुँवर पनि अवकाशमा जाँदैछन्। त्यसपछि खापुङ आइजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका थिए र सरकारले उनैलाई प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो।