arrow

वीरगन्जमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
haija-birami-birganj.jpg

वीरगन्ज। वीरगन्जमा फैलिएको झाडापखाला र हैजाको सङ्क्रमण क्रमशः नियन्त्रणमा आउँदै गएको छ। सुरुवाती दिनमा द्रुत गतिमा बढेको सङ्क्रमण पछिल्ला दिनमा घट्दो क्रममा देखिएको छ।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बिहीबार मात्र ८४ जना नयाँ झाडापखालाका बिरामी अस्पताल भर्ना भएका थिए। तीमध्ये ११ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको हो, तर सोही दिन १८ जना हैजा संक्रमितसहित १७७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

गत शुक्रबारदेखि हालसम्म हैजाको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४३ पुगेको छ। कुल ६१२ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएका थिए, जसमध्ये ४३४ जना निको भई घर फर्किसकेका छन्। हाल १७८ जना मात्र उपचाररत छन्, जसमध्ये ६९ जना हैजा संक्रमित छन्।

महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले शंकास्पद क्षेत्रबाट पानीको नमुना सङ्कलन गरी नियमित परीक्षणलाई तीव्रता दिएको छ। हैजाको स्रोत पत्ता लगाउन र पुनः सङ्क्रमण फैलिन नदिन यो कार्यलाई प्रभावकारी बनाइएको महानगरले जनाएको छ।

स्वास्थ्यकर्मीहरूले दूषित पानी र अस्वच्छ खानेकुराबाट हैजा फैलिने भएकाले सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। उमालेर मात्र पानी पिउन, सरसफाइमा ध्यान दिन र शंकास्पद लक्षण देखिए तत्काल अस्पताल सम्पर्क गर्न पनि सुझाव दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ