लगानी, उत्पादन, उत्पादकत्वमा हामी आत्मनिर्भर बनौँ : मन्त्री भण्डारी [भिडियोसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १२ बिहिबार
666
Shares
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन, उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालको बजार सानो नभएको बताएका छन् ।
बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलनसम्बन्धी अन्तर्क्रियामा मन्त्री भण्डारीले लगानी गर्न नेपाली बजार सानो नभएको बताएका हुन् ।
उनले भने, ‘लगानी गर्न हामीले बजार देखिरहेका छौँ । अरु बजार नखोजौँ । पहिलो बजार घरेलु बजार खोजौँ, तीन करोड जनताको बजार सानो होइन । लगानी, उत्पादन, उत्पादकत्वमा हामी आत्मनिर्भर बनौँ । त्यसपछि करोडौका कुरा पछि गरौंला । पहिले हामी आयात प्रतिस्थापन गरौँ ।’
मन्त्री भण्डारीले नेपाली बजार सुरक्षित गर्न सके देशको जीडीपी बढ्ने पनि बताए । उनले लगानीका लागि नीतिगत रुपमा नै रहेका जटिलताहरु, प्रक्रियागत जटिलता रहेको बताए ।
‘नेपालको तीन करोडको बजार मात्र सुरक्षित गर्न सक्याैँ भने कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ग्रोथ बढी नै हुन्छ । आर्थिक कुटनीतिले केही नयाँ सम्भावना देखाउँछ । पहिले नीतिगतरुपमा नै रहेका जटिलता, आन्तरिक प्रक्रियागत जटिलता छन् । एकद्धार सेवा प्रणाली होस् वा एउटा कुसीबाट सेवा दिने कुरा होस् १२ वटा टेवलबाट त जटिलता भइहाल्छ,’ उनले भने ।