मन्त्री खड्काले अर्का मन्त्री दाहाललाई गरे यस्तो आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
804
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग भेट गरी संखुवासभालगायत देशभरका विकास निर्माण योजनामा गति दिन आग्रह गरेका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयको कार्यकक्षमा भएको भेटमा मन्त्री खड्काले आगामी वर्षमा पनि विगतका जस्तै बजेट फ्रिज हुने अवस्था दोहोरिन नदिन, योजनाहरू समयमै सम्पन्न गर्न र योजनाको गुणस्तरमा कुनै सम्झौता नगर्न मन्त्री दाहालसँग विशेष जोड दिए ।
उनले भने, ‘जनताले अनुभूति गर्ने खालका विकास योजनाहरूलाई प्राथमिकतामा राखेर समयसीमा भित्र सम्पन्न गर्नु आजको आवश्यकता हो। ढिलासुस्तीका कारण विकासमा जनआस्था घट्दै गएको छ, त्यसैले यथाशीघ्र सुधार आवश्यक छ ।’
मन्त्री खड्काले संखुवासभा जिल्लामा सञ्चालनमा रहेका सञ्चालनमा रहेका सडक, पुल तथा आवासीय संरचना निर्माणलाई तीव्रता दिन मन्त्री दाहालसँग आग्रह गरे ।
मन्त्री खड्काले चाडपर्व नजिकिएकासँगै राजधानीबाट जिल्ला फर्किनेहरुको चहलपहल बढ्ने भएकाले सुरक्षित रुपमा आवतजावतकालागि बाटोघाटो र यातायातको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए ।
भेटमा भौतिक पूर्वाधार मन्त्री दाहालले ऊर्जामन्त्री खड्काको प्रस्तावलाई सकारात्मकरूपमा लिँदै आगामी दिनमा मन्त्रालयबीच सहकार्य गरेर काम अघि बढाइने बताए ।
उनले भने, ‘विकास कुनै एक मन्त्रालयको जिम्मेवारी मात्र होइन, यो साझा एजेन्डा हो । त्यसैले ऊर्जा, भौतिक पूर्वाधार, शहरी विकास लगायतका निकायबीचको सहकार्य अझ मजबुत पार्दै योजनाहरूलाई परिणाममुखी बनाइनेछ ।’
यसैबीच ऊर्जामन्त्री खड्काले शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई समेत संखुवासभा र अन्य जिल्लामा भौतिक पूर्वाधारका योजना छिटो सम्पन्न गर्न निर्देशन दिए ।
विशेषगरी विनियोजित कार्यक्रम र बजेट फ्रिज नहुने गरी योजना कार्यान्वयनमा तीव्रता दिन मन्त्री खड्काले सचिव सिग्देललाई आग्रह गरे ।