काठमाडौं। बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा वा ‘मेरो सेयर’ प्रणालीमार्फत दिन सकिन्छ। आईपीओमा आवेदन दिने अन्तिम म्याद चाँडोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म रहेको छ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले लिएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि पनि सेयर जारी गरिसकेको छ। धितोपत्र बोर्डले बन्दीपुर केबलकारलाई कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो।